• निर्दोष कविताहरूको वासस्थान रहेछ ‘गोधूलिको किनारा’

  •  

    हङकङको नेपाली साहित्यमा नयाँ स्रष्टाहरुको आगमनले निरन्तरता पाई नै रहेको छ । विशेषतः कविता लेखनमा उद्धत जमातको संख्यात्मक उचाई बढ्दो छ । फलतः प्रत्येक वर्ष कविताका किताब प्रकाशन हुने गरेका छन् । सोही सिलसिलाका एक नव पात्र हुन्– कवि डोम राना र गोधूलीको किनारा ।

    कविता लेख्नु सहज छैन । लेख्दा के, कसरी र किन लेखियो त ? भन्ने सुझबुझको अर्को जिम्मेवारीपूर्ण पाटो महत्वपूर्ण हुन्छ । त्योभन्दा पनि लेखेर कृति नै प्रकाशित गर्नु सबैभन्दा ठूलो विषय हो । साहस हो ।

    हङकङको नेपाली साहित्यिक क्याम्पमा स्याङ्जाका डोम राना भर्ती भएर छिरिसकेका छन् । र, उनले कवि उपाधिको विल्ला पाईकेका छन् । समय जे भए पनि अब उप्रान्त उनी कवि डोम रानाबाट उम्कन पाउँदैनन् । म केही जान्दिनँ । मैले त्यसै उसै रहरै रहरमा पुस्तक छापेको भनेर उन्मुक्ति पाउँदैनन् । उनको सम्पूर्णताभित्र साहित्यिक जिम्मेवारी पनि हुनेछ सधैं । यो पङ्तिकार पनि सोही कारणबाट कविका कवित्व र प्रकाशित कृति “गोधुलीको किनारा“ बारे अक्षरशः केही बोल्न उपस्थित भएको हो ।

    ‘गोधुलीको किनारा’ भित्र प्रवेश
    ४७ थान कविताहरु राखेर निर्माण गरिएको यो पुस्तकमा पहिलो कविता ‘कल्पना’ शीर्षकबाट शुरु गरिएको छ ।

    “तिम्रो छातीभरी
    मेरा फूल्ने रहरहरु
    आज निस्तेज भएको छन् ।’’

    यही हो डोमको पहिलो गद्यांश ।
    यसैमा अर्को हरफ –

    “… फरक छन् धेरै फरक
    मसँग समर्पित छैन
    पराई भएँ
    हेर्दा हेर्दै साइनो फेरिए ।“

    यसरी ‘कल्पना’मा कविले वियोगान्त प्रणयको भाववेगलाई उद्घाटन गरेका छन् ।

    “… काँडाविनाको फूलजस्तो
    असुरक्षित जीवन
    शून्यतामा हराएको मन
    कुइरोमा हराएको काग
    शायद तिम्रो जिन्दगी हैन
    एकफेर मनन गरी हेर
    प्रत्येक शीत घाम
    अनि प्रचण्ड गर्मीको थप्पडसँगै
    हरेक ऋतु खुशी नै छन् ।’’
    – (अपरिहार्य जिन्दगी)

    मान्छेको जीवनमा चुनौतीहरु हुन आवश्यक छन् । गारो–सारो, अप्ठ्यारो, खाँचो, तृप्त–अतृप्त, आरोह–अवरोह आदिले जीवनलाई ज्ञात–अज्ञात डोर्याइरहेका हुन्छन् । तानिरहेका हुन्छन् । निर्देश गरिरहेका हुन्छन् ।

    जसरी सुन्दर फूललाई काँडाहरुले सुरक्षा दिइरहेका हुन्छन् । काँडाको पनि आनै सुन्दर कर्तव्य छन् । यही मानकमा अडिएका छन् कवि ‘अपरिहार्य जिन्दगीमा’ ।

    “… कति बगाए होलान् आँशु आमाहरुले
    कति तड्पिए होलान् पिडामा बाबाहरु
    कस्तो उच्चाहटलाग्दो दृश्य
    जता हे¥यो उतै देखिन थाल्यो
    जता गयो उतै भेटिन थाल्यो …“
    – (प्रतिबिम्ब)

    कविले देखेको–भोगेको हिजो–आजको समय–परिस्थितिलाई तुलानात्मक रुपले यस कवितामा बोलेका छन् ।

    हिजोका कष्टकर तर प्राकृत वातावरणमा बाँचेको मान्छेलाई आजको कृतिम दुनियाँ असहज लागेको विषय उठान गरेका छन् ।

    अधिकांश कविताहरुले कविको मन–मुटु बोकेका छन् । प्रणयका अनेक रुप, भाव र अर्थमा कविता बाँचेका छन् ।

    “… शिशरको गुलाबजस्तै
    सिरेटोको थप्पड खाएर बाँचिरहें
    आशाको दोधारमा
    गोधूलिको किनारा बनीरहें ।“
    – (गोधूलिको किनारा)

    यसरी कविको कल्पना, अनुभूति, विचार र भावुकताको मिश्रणले कविता रंगिएका छन् । जीवनका अनेक घटना-दुर्घटनाबाट स्वतः उब्जिएका भावभंगीतालाई कविले कविता बनाएका छन् ।

    “… अनुभूतिको अन्तिम चिनारी
    अँजुलीभरीको पानी
    अर्पण गर्नेछु कसैलाई ।“
    – (प्रभातीय किरण)

    हिम्मत गर्नेहरुका लागि, कष्टका अनुभवले खारिएकाहरुका लागि, अँध्यारोबाट उज्यालो देख्नेहरुका लागि जीवनको समाप्ति कहिल्यै नहुने आंशिक तत्व बोकेका छन् कतिपय कविताले ।

    विगतका रोमान्स र त्यसबाट पाएको चोटप्रति सकारात्मक स्वीकारोक्ति दिएको पाइन्छ कविताले । हरेक ती मिथ्या जस्ता लाग्ने सम्झना भुल्न सकेका छैनन् कविले । उही ढुङ्गेधाराको पानी पिउँदै स्मृतिको डाँडा चढेका छन् कवि । कल्पनाको विमानमा सयर गर्दै निकै नोस्टाल्जिक कविता जन्माएका छन् डोमले ।

    सामान्यतः कविताहरु एकै धरातलीय मनोभावबाट प्रभावित लाग्दछन् । एकै वाक्यमा भनूँ भने स्मृति प्रणयका निर्दोष कविताहरुको वासस्थान रहेछ– गोधूलीको किनारा ।

    यी भए कवि र कविताका आत्मीक पक्ष । कविताको आनै भाषाविज्ञान हुन्छ । कविको आनै कला, शिल्प–शैली, लय, भाव, विचार आदि हुन्छन् । विम्ब–प्रतिबिम्बका प्रयोग हुन्छन् । रोष, आवेग, कोमलता, चिन्तन, सहिष्णुता हुन्छन् । यो भन्दा पनि महत्वपूर्ण विषय कविको मौलिकता हो । अहिले त कविताका अनेक आन्दोलन र कन्टेन्ट छन् । अझ कवितामा आञ्चलिकताको विषय पनि प्रखर रुपमा उठेको छ । यसर्थमा कविता लेख्दा घोत्लिनु, बेस्सरी कल्पनु राम्रो हो । लेख्ने क्रममा आफूले चाहेको विषयउपर एकदम आशक्त हुनु राम्रो हो । तर, अध्ययनविनाको घोत्ल्याई र कल्पाईबाट मात्रै सिर्जित कविता कोरा हुन्छन् । यो अर्थमा कवि केही हदसम्म चुकेका छन् । कवितामा विवेक अल्मलिएको देखिन्छ । कविताहरु लघु मात्राका छन् । लघु कविता र फुटकर कविता लेख्न त अझै बढी भाष्य क्षमता र कला–कौशलता चाहिन्छ ।

    कविताको स्पष्ट प्लट चाहिन्छ । हुनतः कवि डोमले आफैं भनेका छन्– “मेरो वास्तविकता यही हो कि न मेरो साहित्यप्रति विगतको अनुभव छ, न त त्यस्तो मजबुद अध्ययन र चिन्तन नै ।’’

    कविको यो स्वीकारोक्ति ठीकै होला । यद्यपि मानिसले किताबको ठेलीमा अक्षर पढेर मात्रै पनि सिक्ने, बुझ्ने होइन । अनुभव र अनुभूतिका लागि प्रत्येक भोगाईका क्षण हुन्छन् । यत्रो वर्षसम्म हङकङमा रहेर एउटै कविता यहाँको अवयवसँगको नलेखिनु यो संग्रहको खुम्चिलो पक्ष लाग्दछ । जीवनको लामै समय व्यतित गरेको कर्मभूमिको अनुभूत किन भएन होला आखिर ! भन्ने तर्कना मनमा स्वाभाविक उब्जिन्छ । यी यावत मनोकांक्षाहरुको उत्तरस्वरुप कविले आगामी दिनहरुमा अध्ययन र अनुभूतिले खारिएका निख्खर कविताहरु लेखेर सबैलाई सुम्पिने छन् भन्ने आशा राख्दै नेपाली काव्यजगतमा प्रवेश गरेकोप्रति बधाई दिन्छु ।

    कविः डोम राना
    कृतिः गोधूलिको किनारा (कवितासंग्रह)
    प्रकाशकः साब्लाबुङ प्रकाशन, हङकङ ।
    भूमिकाः प्रा.डा. कुमारप्रसाद कोइराला
    भाषा सम्पादनः भावेश भुमरी

  • कमेन्ट गर्नुहोस्