कोरोना संक्रमण भएपछिको अनुभव
सकेसम्म बचौं, संक्रमण भए नआत्तिऔं
– हेजेन राई (नारायण)
हङकङको नेपाली समाजमा सक्रिय र चिरपरिचत समाजसेवी हेजेन राई (नारायण) कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँथे । त्यति गर्दा पनि उनमा कोरोना संक्रमण भइ छाड्यो ।
उनी भन्छन्, “स्केलेटरको समाउने ठाउँमा छुदिनँ । हमेसा मास्क लगाउँछु । सेनिटाइजर पनि लगाइरहन्छु । लिफ्टको बटन कहिल्यै हातले थिच्दिनँ । कि त टिस्यु पेपरले, नत्र मेरो ब्यागमा एउटा सानो फलामको हुक छ त्यसले थिच्छु । यसरी सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना संक्रमण भयो ।”
हङकङ नेपाली महासंघको संरक्षक, किरात राई यायोक्खा हङकङको संरक्षक, एनआरएनए हङकङको सल्लाहकार, चेम्बर अफ कमर्श हङकङको सल्लाहकार, जनजाति महासंघ हङकङको सल्लाहकार, नेपाली समाजको प्रमुख सल्लाहकार, चाम्लिङ खाम्बातिम लगायत धेरै संस्थामा सल्लाहकार रहेका हेजेन पछिल्लो समय आफ्नो कार्यालयमै व्यस्त थिए ।
जब हुवानमा डिसेम्बर २०२० मा कोरोना शुरू भयो । त्यसैबेलादेखि उनले पनि यसबारे सुन्दै र बुझ्दै आएका हुन् । सतर्कता पनि त्यसैबेलादेखि अपनाएका हुन् । हङकङमा कोरोना संक्रमण फैलिएपछि हेजेनले सतर्कता अपनाउँदै पटक–पटक पीसीआर टेस्ट पनि गरे । भन्छन्, “२२ नोभेम्बर २०२० मा टेष्ट गर्दा नेगेटिभ रिजल्ट आएको थियो । त्यसपछि मलाई छैन भनेर ढुक्क भएँ । तर त्यसको १९/२० दिनपछि परीक्षण गर्दा पोजेटिभ भएछ ।”
डिसेम्बरको १२/१३ तारिखमा उनमा मुख्य लक्षणहरू देखा परे । सुक्खा खोकी लाग्ने, ज्वरो आउने भयो । ज्वरो पनि टाउकोमा मात्र आउने, जीउमा आएन । त्यसमाथि आउने जाने भयो । त्यसपछि जीउ थाकेको महसुस भयो । २२ नोभेम्बरमा नेगेटिभ रिजल्ट आएकोले त्यति चाँडै कोभिड भएन होला भन्ने लाग्यो उनलाई । “श्रीमतीसँग कोभिड लाग्यो कि के हो मलाई भनेर कुरा पनि गरें । तर परीक्षण गरेको थिइनँ,” उनी भन्छन् ।
उनलाई सालैपिच्छे मौसम परिवर्तन हुँदा फ्लु लाग्थ्यो । त्यस्तै फ्लु होला भनेर घर पछाडि रहेको डाक्टर कहाँ गए । त्यहाँ फ्लुको भ्याक्सिन पाइन्थ्यो । ५० वर्ष नाघेकालाई निःशुल्क दिइने भ्याक्सिन लगाइदिए । तर पनि खोकी लाग्ने, ज्वरो आउने, जीउ थकित हुने भइरह्यो । उक्त भ्याक्सिनको साइड इफेक्ट पनि त्यस्तै रहेछ । साइड इफेक्ट होला भन्ने सोचेर उनी त्यत्तिकै बसे ।
डिसेम्बर १५ मा जक्की क्लबमा उनको रेगुलर चेकअप थियो । त्यहाँ जाँदा ज्वरो ४० डिग्री देखिएपछि डाक्टरले सिधै हस्पिटलको इमर्जेन्सी डिपार्टमा पठाए । उनलाई आइसोलेसनमा राखियो । झण्डै ४ घन्टापछि कोरोना पोजेटिभ रिपोर्ट आयो । त्यसको भोलिपल्ट उतैबाट हस्पिटल लगियो ।
हस्पिटलमा एउटा कोठामा ५ जनालाई राखिएको थियो । त्यहाँ डाक्टर, नर्स, खाना दिने, सरसफाई गर्नेहरू हमेसा आइरहन्थे । संक्रमितहरूसँग घुलमिल भइरहन्थे । उनीहरूले लगाउने मास्क पनि अलि भिन्नै प्रकारको थियो, कचौरा जस्तो । त्यसको अगाडि फेससिल्ड । टोपी पनि अर्कै खालको, ज्याकेट पनि अर्कै खालको लगाएर आउने उनीहरू बाहिर निस्केपछि सबै निकालेर डस्विनमा फालेर जान्थे । उनलाई कोरोनाको संक्रमण त्यति सजिलै हुँदैन भन्ने लाग्छ । भन्छन्, “तर, दशा लागेपछि भन्ने चलन छ नि ! त्यस्तै हो कि जस्तो पनि लाग्छ । सजिलो हिसाबले चाहिं यो लाग्दैन ।”
पोजेटिभ भइसकेपछि पनि उनी आत्तिएनन् । यसको मृत्युदर धेरै छैन । “मर्न चाहिं मरिदैंन, ९९ प्रतिशत मलाई केही पनि हुँदैन” भन्नेमा उनी ढुक्क थिए ।
घरमा तीनजना नानी अनि श्रीमती थिए । उनीहरूलाई क्वारेन्टिनमा लान्छ भन्ने उनलाई लागेको थियो ।
हस्पिटलमा शुरूमा हेजेन र एक जना चाइनिजलाई एक दिन एउटा कोठामा राखियो । त्यसपछि डाक्टरले फोन गरेर “तिम्रो उमेर पनि अलि पाको रहेछ । तिमीलाई डाइबिटिज पनि रहेछ । तर चिन्ता नगर, उपचार हुन्छ, केही हुँदैन” भन्ने खालको कुरा गरे । त्यसपछि दिउँसो फेरि डाक्टर आएर तिमीलाई यो इन्जेक्सन दिन्छौं भनेर झण्डै ६/७ पानाको एउटा नोट दिएर गए अंग्रेजीमा । हङकङमा संक्रमितलाई ‘इन्टरफेरोन बेटा वान बी’ भन्ने इन्जेक्सन दिइन्छ भन्ने उनलाई पहिल्यै थाहा थियो । यो इन्जेक्सन कोभिडका लागि बनेको त होइन तर पछि कोभिडलाई पनि दिंदा प्रतिक्रिया राम्रो आयो । त्यसकारण यो प्रचलनमा आयो । उनी भन्छन्, “त्यसले चाहिं भाइरस मार्ने अनि इम्युनिटी पावर बुस्ट गर्ने भनेको छ । पहिले सार्स, मर्स आउँदा पनि त्यसको प्रयोग गरेको थियो शायद । कोभिडको औषधि नभएर आत्तिए मान्छे संसारमा । वैज्ञानिकहरूले पनि अनेक प्रयास गरे । उपाय खोजी गर्ने क्रममा अहिले यो प्रयोग भइरहेको छ ।”
भ्याक्सिन लगाएको भोलिपल्टदेखि उनलाई धेरै शीतल भयो । एक दिन बिराएर जम्मा ४ वटा इजेक्सन दिइयो । उनी एक सातामै घर फर्किए ।
उच्च मनोबलकै कारण हस्पिटलमा बस्दा उनलाई खासै समस्या भएन । तर, जब श्रीमतीको पनि पोजेटिभ रिपोर्ट आएको खबर सुने त्यसबेला भने केही आत्तिए । “पोजेटिभ हुने बित्तिकै ऊ हस्पिटल जानुपर्यो । त्यसपछि तीनजना नानीहरू बाँकी रहे । तीन जनामा पनि ठूलो छोरालाई पोजेटिभ भयो भने साना दुई नानी कहाँ बस्ने ? त्यसले चाहिं धेरै नै तनाव भयो,” उनी सुनाउँछन् ।
तर पनि उनको मनले भन्यो, “म आत्तिनु हुँदैन । सबै मिल्दै जानेछ । हङकङ सरकारले केही गर्ला, हामीले पनि अरु मान्छे लगेर राखौंला ।” यही सोचेर मन दह्रो बनाए ।
इटाली, बेलायततिर दिनमै हजार जना भन्दा बढीलाई कोरोना हुने र धेरै मान्छे मर्न थालेपछि त्यसबाट शिक्षा लिएर हङकङले पेनवी वे भन्ने ठाउँमा हजारौंलाई राख्न मिल्ने क्वारेन्टिन सेन्टर बनायो । त्यस्तै पोजेटिभ देखिएको व्यक्तिको उमेर कम छ, दीर्घरोगी छैन भने उनीहरूलाई अस्थायी हस्पिटल एसिया वल्र्ड एक्स्पोमा लाने व्यवस्था गर्यो । त्यो पनि निकै ठूलो क्षमताको छ ।
लक्षण नभए पनि परीक्षण गरौं
हस्पिटलमा बसेपछिको हेजेनको अनुभवमा कोरोनाको लक्षण छैन भने पनि टेष्ट गर्न आवश्यक छ । उनी आफ्नै उदाहरण दिन्छन्, “जस्तै; छिमीलाई पोजेटिभ भयो तर लक्षण देखिएन । चाँडो निको पनि भयो । मलाई चाहिं लक्षण देखियो तर धेरै गाह्रो भएन ।”
हस्पिटलमा बस्दा उनलाई दुई दिन चाहिं अलि सारो जस्तो अनुभव भयो । खोकेको खोकै, ज्वरो आएको आएकै । सुत्न असजिलो हुने, थकान हुने भयो । त्यसपछि आफैं हलुङ्गो हुँदै गयो । पहिलो दिन जब इन्जेक्सन लगाइयो त्यसको भोलिपल्ट बीसको उन्नाइस भयो । त्यसपछि परिवारलाई पनि ठिक हुँदैछु भनेर म्यासेज पठाए । “डिसेम्बर २०१९ मा जब कोरोना शुरू भयो । त्यतिबेलै हामीलाई भएको भए गाह्रो हुने थियो । तर, अब त डाक्टरहरू यति अभ्यस्त भइसके कि कुन इन्जेक्सनले के काम गर्छ, कुन मान्छेलाई कसरी उपचार गर्ने भन्ने सबै ज्ञान भइसक्यो,” उनी भन्छन् ।
लामो अनुभवकै कारण उनको हिस्ट्री हेरेपछि “ल तँलाई केही हुँदैन, केही दिनमै घर जान्छस्” भने डाक्टरले । त्यसपछि विभिन्न प्रकारका धेरै इन्जेक्सन लगाइयो । उनलाई केही हुँदैन बाँचिन्छ भन्ने लाग्यो ।
पोजेटिभ रिपोर्ट आएपछि उनी आत्मबल दह्रो बनाएरै हस्पिटल गएका थिए । त्यसैले धेरै आत्तिएनन् । श्रीमतीलाई फोन गरेर “ल मलाई पोजेटिभ भयो हस्पिटल जाँदैछु, केही हुँदैन, चिन्ता नगर,” भने ।
हस्पिटलमा पुर्खाको सम्झना
उमेरका कारण, डाइबिटिज, प्रेसर भएको हिसाबले जोखिम त थियो नै । तर पनि उनलाई भित्रैबाट ९९ प्रतिशत ठिक हुन्छु भन्ने लाग्यो रे । उनले ८ दिन हस्पिटलमा बस्दा आफ्ना पुर्खाहरू सम्झिए । पहाडदेखि तराईसम्म घुमेका ठाउँ, साथीभाइहरू सबै मनमा आए ।
हङकङमा १ प्रतिशत मृत्युदर छ । अन्यत्रतिर भन्दा कम भए पनि त्यो १ प्रतिशतमै परियो भने के गर्ने ? भनेर घरी–घरी चाहिं मनमा डर पनि आयो । आफ्नै छेउको बेडमा बुढो मान्छेलाई ल्याएर राख्दा उनको मनमा अनेक सोच आयो । ‘बिहे गरिन्छ, छोराछोरी पाइन्छ । त्यसपछि छोराछोरी ठूलो भएर आफ्नो–आफ्नो गरिखाओस् । उनीहरूको विवाह गरिदिएर, नाति–नातिना भएपछि चाहिं मरियो भने पनि केही छैन भनेर सन्तोष हुँदोरहेछ,” उनी भन्छन्, “मेरो त नानीहरू पनि सानो छ भन्ने मनमा लागिरह्यो । पुरानो पात झर्छ, नयाँ पात पलाउँछ । हरेक प्राणी एक दिन त मर्छ नै । संसारमा सबैको आयु हुन्छ । तर पनि, नाति–नातिना देखेर मर्न पाउँदा चाहिं छुट्टै सन्तुष्टि । त्यो चाहिं मलाई खड्किरहेको थियो ।”
हस्पिटलमा उनलाई दुई दिन चाहिं सुत्न अप्ठ्यारो भयो । खोकी अलि बढी लाग्ने । उनको छेउमा एउटा बिरामी थियो– अपांग जस्तो, हात खुट्टा पनि नचल्ने, नबोल्ने । त्यो बिरामी कराएको कराएकै गरेर सुत्नै दिएन । तेस्रो दिनमा चाहिं डिस्चार्ज भयो ।
हङकङको सन्दर्भमा कोरोना लागिहाल्यो भने पनि त्यति डराइहाल्नुपर्ने अवस्था छैन भन्ने लाग्छ हेजेनलाई । किनकि यहाँ प्रशस्त बेड भएका हस्पिटल छन् । “क्यान्सरको पनि स्टेज फोरमा गयो भने मान्छे मर्छ । वानमै भेट्यो भने त बाँच्छ नि ! त्यस्तै रहेछ कोरोना पनि,” उनी भन्छन्, “त्यसैले म सबैलाई के अनुरोध गर्छु भने १४/१५ दिनमा कोरोना टेष्ट गरिरहनुपर्ने रहेछ । मैले निको भएर आएपछि पनि परीक्षण गरें । नेगेटिभ आयो । त्यसको १३ दिनपछि फेरि गरें ।”
परीक्षण गराइरहे यदि पोजेटिभ रिपोर्ट आयो भने छिटो निको भइन्छ भन्ने उनलाई लाग्छ । उनी त्यसलाई प्रष्ट्याउँछन्, “जस्तै; मकैको दाना जमिनमा रोपिसकेपछि विभिन्न कारणले कुनै उम्रिन्छ कुनै उम्रिदैंन नि । त्यस्तै जस्तो छिमीको चाहिं इम्युनिटी पावरले किचेर उम्रिन दिएन । मेरो हकमा अलिकति टुसा पलायो तर म बेलैमा डाक्टरकोमा पुगें । अरु देशमा चाहिं घरमै बस भन्छ, त्यसले गर्दा झाङ्गिसक्छ । अन्तिममा अस्पताल पुग्छन् त्यतिबेला स्थिति नाजुक भइसकेको हुन्छ ।” आफ्नो अनुभवको आधारमा उनको सुझाव छ, “हङकङको सन्दर्भमा; मलाई लक्षण छैन भनेर नबस्ने । १४/१५ दिनमा परीक्षण गराइरहने । हस्पिटल/बेडको सहज उपलब्धता छ त्यसैले पोजेटिभ रिपोर्ट देखिनासाथ उपचार गर्न पाइन्छ अनि छिटो निको हुन्छ ।”
इम्युनिटी पावर बढाऔं
कोरोना संक्रमणबाट बच्न र लागिसकेपछि छिटो निको हुन सबैभन्दा राम्रो उपाय इम्युनिटी पावर बढाउनु हो भन्ने हेजेनको राय छ । उनको अनुभवमा इम्युनिटी पावर बढाउन तनाव हुनु भएन, पिर–चिन्ता लिनु भएन । मलाई ऋण यति छ भनेर चिन्ता नलिने, निको भएपछि तिरिहालिन्छ नि भन्ने सोच्ने । व्यायाम पनि धेरै होइन ठिक्क गर्ने । इम्युनिटी पावर बढाउन अमिलो फलफूलहरू, ब्रोकाउली, लसुन खान उनको सुझाव छ । उनी आफू पनि त्यसै गरिरहेका छन् ।
“सबैभन्दा पहिलो कुरा त इम्युन सिष्टम राम्रो भयो भने कुनै रोगले छुँदैन । त्यही भएर खानामा ध्यान दिने, शारीरिक व्यायाम गर्ने, चिन्ता नलिने । अर्को कुरा धेरै केमिकल नचलाउने, निद्रा पर्याप्त पुर्याउने,” उनी भन्छन्, “अहिले भ्याक्सिन भनिराखिएको छ । फिजरको, अक्सफोर्डको । त्यो भ्याक्सिनले भाइरस शरीरमा छिर्नै नदिने भन्ने होइन । भ्याक्सिनले पनि कोभिडविरुद्ध रोगप्रतिरोधी क्षमता बढाउने हो ।”
उनको अनुभवमा रोग लागिहाल्यो भने पनि आत्तिनु हुँदैन । तर संसारमा २० लाखभन्दा बढी मानिस मरेको सुन्दा त सबैको मन आत्तिन्छ । “म हस्पिटलको बेडमा बसेर सोच्ने पनि त्यही हो । तर विशालै आत्तिने अवस्था चाहिं आएन । चाँडै हस्पिटल गएकोले छिटो निको भयो । डाक्टरले भनेअनुसार नै निको हुँदै गएँ,” उनी सम्झिन्छन् ।
हेजेनलाई कोरोना लाग्ने मुख्य कारण लापर्बाही नै हो भन्ने लाग्छ । आफूलाई चाहिं सतर्कता अपनाउँदा–अपनाउँदै पनि क्लाइन्टको डकुमेन्ट र पैसाबाट सरेको हो कि भन्ने लाग्छ । उनको सुझाव छ, “मास्कले सुरक्षित भइन्छ । मास्क खोलेर, हाँस्दै सँगै वियर खाने चलनले छिटो सर्छ । त्यसैले अहिलेको अवस्थामा मलाई, अरुलाई, जोसुकैलाई पनि हुन सक्छ भन्ने सोचेर सजग भएर हिंड्नु पर्छ । सतर्कता अपनाउनै पर्छ । लापर्बाहीले नै हो सर्ने ।”
हङकङमा कामबाट फर्किंदा सेभेन लेभेनमा मास्क निकालेर राजनीतिक गफ गर्न थाल्ने र सँगै खानपिन गर्ने, थुक उछिट्याउँदै ठूलठूला कुरा गर्न थाल्ने प्रवृत्तिले धेरैलाई सर्ने गरेको उनको ठम्याइ छ । यदि सरिहाले पनि आत्मविश्वासले नै जित्न सकिने उनी बताउँछन् । भन्छन्, “तपाईं÷हाम्रो शरीरमा औषधिले काम गर्ने पनि आत्मविश्वासले नै हो ।”
नानीहरू छोडेर आइसोलेसनमा जाँदा…
– छिमी लामा राई
रनिङ खेलकी भूपू राष्ट्रिय खेलाडी छिमी लामा सन् १९९८ सेप्टेम्बरमा डोमेष्टिक हेल्परमा हङकङ आएकी हुन् । १२ वर्ष चाइनिजको घरमा काम गरिन् । त्यसपछि २००८ मा हेजेनसँग उनको विवाह भयो ।
लामो समयको हङकङ बसाइका क्रममा यसपटक उनले नसोचेको कोरोना संक्रमण भोग्नुपर्यो । तर आफ्नो हिम्मतले कोरोना परास्त गर्न सफल भइन् ।
शुरूमा श्रीमान् हेजेनलाई पोजेटिभ रिपोर्ट आएको खबर सुनेपछि उनको मन चसक्क भयो । तर, खासै डर लागेन । किनभने हेजेन प्रत्येक ३/३ महिनामा जक्की क्लबमा चेक गरिरहन्थे । खबर सुनेपछि उनले हङकङ नेपाली महासंघकी भूतपूर्व अध्यक्ष रिता गुरुङलाई धेरैपटक फोन गरिन् । आफ्नो दुःख शेयर गरिन् ।
हेजेनलाई १५ तारिखमा पोजेटिभ देखिएपछि त्यहाँबाटै चुनमुन लगियो । त्यसपछि छिमीलाई “तयारी अवस्थामा बस्नू, हामी जुनसुकै समयमा आउन सक्छौं” भनेर सरकारी निकायबाट फोन आयो । त्यसपछि छिमी र नानीहरू घरबाट बाहिर ननिस्की बसे । खानेकुरा अगाडि नै किनिराखेका थिए र सजिलो भयो ।
हेजेनलाई पोजेटिभ भएको ३ दिनपछि उनीहरूलाई पनि लिन आए सरकारका मान्छे र क्वारेन्टिनमा लगियो । त्यसको दुई दिनपछि कोरोना परीक्षण गरियो । २२ तारिखमा रिजल्ट आयो । सबैभन्दा पहिला छिमीकै रिजल्ट आयो– पोजेटिभ । त्यसपछि त उनलाई आइसोलेसनका लागि तयारी अवस्थामा रहनु भन्ने खबर आइहाल्यो । उनी भन्छिन्, “दुईजना नानी साना छन्, एउटा ठूलो बाबु छ । उनीहरूको रिपोर्ट नआएसम्म प्लिज यहीं बस्छु भनें ।”
बेलुका ५ बजेतिर २ जना नानीको नेगेटिभ रिपोर्ट आयो । ठूलो छोराको ६ बजेतिर नेगेटिभ नै आयो । त्यसपछि उनी बसेको कोठाबाट दुईजना नानीलाई ठूलो छोराको कोठामा सारियो ।
भोलिपल्ट छिमीलाई लिन मान्छे आए, उनलाई लगेर एसिया वल्र्ड एक्स्पोमा राखियो । त्यो क्षण सम्झिंदै छिमी भन्छिन्, “मलाई लिन आउँदा छिटो तल झर भनेर फोन आएको थियो । किनभने अगाडि नै तयारी भएर बस्न भनिएको थियो । मलाई नानीहरू हेर्न एकदमै मन लाग्यो । त्यसैले नानीहरूको अनुहार मात्रै हेरुम् भनेर उनीहरूको कोठानजिक गएँ । उनीहरूले बाई गरे । त्यसको भिडियो खिचेर फेसबुकमा राखें ।” नानीहरूले मायालु पारामा बाई गर्दा उनलाई कता–कता नमजा पनि लाग्यो । “नानीहरूको अनुहार, कपाल, ड्रेसअप देख्दा आमा नहुँदा नानीहरू कस्तो हुँदोरहेछ भन्ने फिल भयो,” उनी सम्झिन्छिन् ।
नानीहरू एकातिर, श्रीमान् अर्कातिर र आफू अर्कैतिर । छिमीका लागि निकै अप्ठ्यारो अवस्था थियो । तर उनले मन दह्रो पारिन् । भन्छिन्, “श्रीमान्सँग म्यासेन्जरमा च्याट भइरहन्थ्यो । त्यतिबेला उहाँले मलाई ठिकै छ । राम्रो हुँदै गएको छ भन्दा मलाई पनि ढुक्क भयो । यता ठूलो छोरासँग पनि फोनमा कुरा भइरहेको थियो । त्यसैले समस्या भएन ।”
संक्रमण भएर बस्दा पनि उनी आफ्ना अनुभवहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहन्थिन् । त्यतिबेला उनलाई धेरैले कल, म्यासेज गरेका थिए, के–कस्तो छ अपडेट गर्नू भनेर । “मैले सबैलाई कल/म्यासेज गर्न नसके पनि केही व्यक्तिलाई भने गरें । डाक्टरको पनि फोन आइरहन्थ्यो,” उनी भन्छिन् ।
त्यसरी स्वास्थ्यलाभको कामना गर्ने सबैलाई उनले अहिले पनि धन्यवाद भन्न भ्याएकी छैनन् । फेसबुकबाट चाहिं त्यहाँ बस्दा कस्तो खाना हुन्छ, कस्ता सुविधा हुन्छन् भन्ने अपडेट गरिन् । उनी भन्छिन्, “पछि आउनेलाई पनि सजिलो होस् भनेर अपडेट गरिराखें ।”
आइसोलेसनमा रहँदा छोराछोरीलाई पनि फोन गरिरहने छिमीलाई खासै नराम्रो अनुभूति भएन । हेजेनको पनि स्वास्थ्य राम्रो हुँदै थियो । यता नानीहरूलाई पनि राम्रै थियो । कुरा भइरहेकै थियो । भन्छिन्, “मेरो नानीलाई ठूलो दाइ भएपछि कोही पनि चाहिंदैन । आमा–बुवा पनि चाहिंदैन । त्यही भएर खासै चिन्ता लागेन । तर बेला–बेलामा चाहिं छोराछोरी सम्झेर न्यास्रो अनुभव भने हुन्थ्यो ।”
छिमी अहिले पनि कसरी संक्रमण भयो भनेर छक्क पर्छिन् । लक्षण केही नभएको कुरा डाक्टरलाई पनि बताइन् । उनलाई आइसोलेसनमा रहँदा १२ पटकसम्म रगत लिइयो । दैनिक एक्सरे गरियो । प्रेसर, पल्स र ज्वरो पनि दिनमा ३ पटक जाँचिन्थ्यो— बिहान, दिउँसो र बेलुका । चेक गर्ने बित्तिकै नर्सहरूसम्म रिजल्ट गइसक्थ्यो । स्वास्थ्य सेवा राम्रो भएकोले त्यतिबिघ्न चिन्ता भएन ।
छिमी घरबाट बजारसम्म मात्र आउने–जाने गर्थिन् तर उनलाई कोरोना संक्रमण भयो । अहिले त फेसबुकमा हाइकिङ जानेदेखि लिएर ग्यादरिङ गरेर पिकनिक जस्तो गरी मास्क निकालेर बसिरहेको देख्दा उनलाई कोरोना अझै फैलिन सक्छ भन्ने लाग्छ । भन्छिन्, “त्यस्ता ग्यादरिङमा केही महिनाका लागि नगइदिएहुन्थ्यो भन्ने लाग्छ । त्यो त पछि पनि जान सकिन्छ नि ।”
शुरूमा त साथीहरू घुम्न जाँदा उनलाई पनि जान मन लागेको थियो । तर, आफैंले संक्रमण भोगेपछि र अरुको अवस्था देखेपछि भने ‘यस्तो बेला नजानु राम्रो रहेछ’ भन्ने लाग्छ । उनी आइसोलेसनबाट फर्किएर आउँदा नानीहरू खुशी भए । त्यो देख्दा छिमीलाई पनि उत्तिकै खुशी लाग्यो ।
क्वारेन्टिन र आइसोलेसन बसाइबाट फर्किएपछि उनको सुझाव छ, “क्वारेन्टिनमा जाँदा आफ्नो स्वादको खानेकुरा बोकेर जाँदा राम्रो । मैले नानीहरूका लागि पहिल्यै खानेकुरा बोकेको थिएँ । त्यहाँ अरुले पनि ल्याइदिन पाउँछन् । त्यसैले मगाउँदा पनि हुन्छ ।”