बाजे भर्सेज बाजे
यौटा बाजे एकाबिहानै
नारायणथानको मन्दिर जान्छन्
रातो अबिर घस्दै एकेक ढुङ्गा छुन्छन्
दैलोमा झुन्डेको घण्ट बजाउँदै
फूलको थुङ्गा फाल्छन्
भुइँमा
सेतो एक लोटा दूध खन्याउँछन्
मन्दिरको भित्तातर्फ फर्केर कोटि कोटि प्रणाम गर्छन्
र फिस्स हाँस्दै बजारतिर निस्किन्छन्
अर्को बाजे एकाबिहानै पुवाखोला झर्छन्
खोलाको ढुङ्गा पल्टाउँछन्
पाँचवटा मसिना माछा समात्छन्
खोलामा मेटासिट हाल्ने मान्छेप्रति झोंक्किएर
भुत्भुतिदैं सराप्छन्
र खुइया: गर्दै बजारतिर उक्लिन्छन्
मन्दिरबाट बजार निस्कने बाजेलाई
सबैले नमस्कार गर्छन्
बाजेले माझी औंलोले रातो टीका लगाइदिन्छन्
फूलको एक पत्र थमाइदिन्छन्
अनि बाँसको टोक्रीमा दक्षिणा बटुल्दै-बटुल्दै
घिमिरे गाउँमा विसर्जन गर्छन् बिहान
खोलाबाट बजार उक्लिने बाजेले
सबैलाई नमस्कार गर्छन्
माछा घुमाउँछन् देखाउँछन्
च्याङ्बा-होटेलले दुई सय रुपियाँ दिन्छ
हनुमाने साहुजीबाट
आधा किलो बगडा चामल किन्छन्
अनि कङ्कडको धुवाँ
चियाबारीको ओरालोमा उडाउँदै-उडाउँदै
वालन गाउँमा विसर्जन गर्छन्
बिहान घामको पहिलो किरण
घिमिरे गाउँमा खस्दछ
र सायद
घिमिरे गाउँको बाजेको अनुहार
सँधै झलझली बल्दछ,
घामको अन्तिम रङ्ग
वालन गाउँमा लाग्दछ
र सायद
वालन गाउँको बाजेको अनुहार
सँधै ध्वाँसो लागेको जिरो वाट्को बल्ब जस्तो
मधुरो-मधुरो देखिन्छ
पात्रो पल्टाएर साइत हेर्ने बाजे
र ढुकुरको गीत सुनेर जङ्गल छिर्ने बाजे
दुइटै बाजे हुन्
उमेर समान छन् अनुहारका चाउरीहरू बराबर छन्
फुलेका कपालका संख्याहरू उत्तिकै देखिन्छन्
तर पनि किन फरक छन्
यी दुई बाजेका दैनिकी
किन मिल्दैनन् यी दुई बाजेका
जीवन बाँच्ने तौरतरिका ?
चोक बजारमा उभिएर
म सोचिरहेको छु
क्याम्पसबाट डेरा फर्किरहेका
यी विद्यार्थीहरूले
दुई बाजे मध्ये
कुन बाजेको थेसिस लेख्लान् ?